स्वास्थ्य बीमामा आबद्ध २१७ स्वास्थ्य संस्थालाई १ अर्ब ३ करोड भुक्तानी
वि.सं.२०८३ जेठ १४ बिहीवार १०:३६
shares

काठमाडौं, १४ जेठ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आबद्ध २१७ वटा सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा बोर्डले १ अर्बभन्दा बढी रकम भुक्तानी गरेको छ।
बोर्डको जेठ १२ गतेको निर्णयअनुसार ती स्वास्थ्य संस्थालाई कुल १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको हो। बोर्डका अनुसार उक्त रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा पठाइसकिएको छ।
स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा प्रदान गर्दै आएका अस्पताल तथा स्वास्थ्य संस्थाले लामो समयदेखि भुक्तानी माग गर्दै आएका बेला बोर्डले उक्त रकम निकासा गरेको जनाएको छ।
बोर्डले स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउन तथा बीमाअन्तर्गत उपचार सेवा निरन्तर सञ्चालन गर्न भुक्तानी प्रक्रिया अगाडि बढाइएको उल्लेख गरेको छ।
















