निर्माण सामग्री ओसार्दा सडक फोहोर पार्नेलाइ महानगरद्धारा ५० हजार जरिवाना
वि.सं.२०८३ जेठ १४ बिहीवार १५:०५
shares

काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिकाले सार्वजनिक सडक फोहोर गरेको आरोपमा एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
महानगरपालिकाका अनुसार काठमाडौं महानगरपालिका–१ नक्साल क्षेत्रमा निर्माण सामग्री ढुवानी गर्ने क्रममा सडकमा हिलो र माटो खसालेर सार्वजनिक स्थल प्रदूषित गरिएको थियो। ना २ ख ४२८ नम्बरको गाडीमार्फत निर्माण सामग्री ओसारपसार गर्दा सडकभरि माटो तथा हिलो फैलिएको र यसले सार्वजनिक संरचना तथा सडक क्षेत्र प्रभावित भएको महानगरले जनाएको छ। उक्त घटनामा संलग्न कविन्द्र झालाई महानगरपालिकाले नगद ५० हजार रुपैयाँ जरिवाना गरेको हो।
महानगरपालिकाले पछिल्लो समय सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा फोहोर गर्ने, निर्माण सामग्री जथाभाबी राख्ने तथा ढुवानीका क्रममा सडक हिलो वा धुलो बनाउने गतिविधिमाथि कडा निगरानी राख्दै आएको जनाएको छ। यस्ता गतिविधि नियन्त्रण गर्न तत्काल अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाइएको महानगरको भनाइ छ। महानगरले सार्वजनिक स्थान स्वच्छ राख्न तथा वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग गर्न सबै नागरिक तथा निर्माण व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
















