Dhulikhel Eco Banner new

वीरगञ्ज भन्सार नाका हुँदै एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

1.57K
shares

काठमाडौं, १४ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थको आयात उल्लेख्य रूपमा वृद्धि भएको छ ।

भन्सार कार्यालयको तथ्यांकअनुसार यो अवधिमा कुल १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरका छ प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ अर्ब ५३ करोड रुपैयाँ अर्थात् १६.३५ प्रतिशतले बढी हो।

गत वर्षको १० महिनामा यस नाका हुँदै १ खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ आयात भएका थिए। वीरगञ्ज भन्सार कार्यालय का सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु वर्षको १० महिनामा पेट्रोलियम आयातबाट मात्रै ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

विवरणअनुसार डिजेल आयात सबैभन्दा धेरै रहेको छ। सो अवधिमा १ खर्ब ५७ करोड रुपैयाँ बराबरको ८ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात भएको छ। त्यसैगरी ३५ अर्ब ७९ करोड रुपैयाँ बराबरको ३ लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ।

एलपीजी ग्यासतर्फ भने २५ अर्ब ५४ करोड रुपैयाँ बराबरको २४ करोड २७ लाख किलोग्राम ग्यास आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा परिमाण र मूल्य दुवैमा घटेको देखिएको छ।

समग्रमा पेट्रोलियम आयात र राजस्व संकलन दुवै बढे पनि एलपीजी ग्यास आयातमा भने गिरावट आएको भन्सार तथ्यांकले देखाएको छ।