Dhulikhel Eco Banner new

आज विभिन्न स्थानमा वर्षा र हावाहुरीको सम्भावना

962
shares

काठमाडौं, १५ जेठ । नेपालको पूर्वी भूभाग नजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका क्षेत्रहरूमा आंशिक बदली देखिएको छ।

महाशाखाले दिएको जानकारीअनुसार कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम प्रतिकूल हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन तथा यात्रा गर्दा सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।