Dhulikhel Eco Banner new

बजेटबारे आज वाग्ले पत्रकारहरूसामु, खुलेर राख्लान धारणा ?

2.78K
shares

काठमाडौं । शुक्रबार संसद्मा बजेट प्रस्तुत गरिसकेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अब त्यसका विभिन्न पक्षमाथि सञ्चारकर्मीसँग खुल्न लागेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा उनले आज पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका हुन् ।

यो कार्यक्रम आज दिउँसो सिंहदरबारभित्रै रहेको अर्थ मन्त्रालयको सुवर्ण हलमा हुनेछ । अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाका अनुसार सोही हलमा वाग्लेले बजेटका प्राथमिकता र प्रावधानबारे पत्रकारका जिज्ञासा सम्बोधन गर्नेछन् ।

वाग्लेले गत शुक्रबार कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएका थिए । यो रकम चालु, पूँजीगत र वित्तीय व्यवस्था गरी तीन शीर्षकमा बाँडिएको छ ।

यसमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् ५९.८ प्रतिशत बराबरको १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ चालु खर्चमा छुट्याइएको छ । विकास निर्माणसँग जोडिएको पूँजीगत खर्चका लागि भने २०.३ प्रतिशत हुने गरी ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ । बाँकी १९.९ प्रतिशत अर्थात् ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फ राखिएको छ ।