Dhulikhel Eco Banner new

घाटा बढ्दै, तर इन्धन मूल्यमा भने राहत कायमै

पन्ध्र दिनमा मात्रै निगमलाई ६२ करोड ८६ लाख रुपैयाँ नोक्सान

1.25K
shares

काठमाडौँ — विश्वबजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा नेपाल आयल निगमको घाटा पनि बढेको छ। ताजा हिसाबअनुसार पछिल्लो पन्ध्र दिनमा मात्रै निगमलाई ६२ करोड ८६ लाख रुपैयाँ नोक्सान भएको छ। तर यो घाटाको भार उपभोक्तासम्म नसार्ने भन्दै निगमले अहिलेलाई इन्धनको मूल्य जस्ताको तस्तै राख्ने निधो गरेको छ।

यो निर्णयअनुसार राजधानीमा अब पनि पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर २२५ रुपैयाँ तथा १४.२ केजीको एलपी ग्यास सिलिन्डर २,१६० रुपैयाँमै पाइनेछ।

निगमले मूल्य स्थिर राख्नुको पछाडि सर्वसाधारणलाई बढ्दो भार बोकाउन नचाहेको कारण देखाएको छ। मध्यपूर्वको द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर उकालो लागिरहेको र भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ खरिद मूल्यसँग दाँजेर समायोजन गर्न सहज नभए पनि अहिलेलाई मूल्य नबढाइएको निगमको भनाइ छ।

विश्वबजारको चाल कस्तो रहन्छ, त्यसैका आधारमा आगामी दिनमा मूल्य समायोजनबारे आवश्यक निर्णय गरिने निगमले स्पष्ट पारेको छ।