Dhulikhel Eco Banner new

सगरमाथासहित ३१ हिमालको वसन्त आरोहण सकियो, सरकारले एक अर्ब २६ करोड राजस्व उठायो

कामिरीता र लाक्पा शेर्पाले आफ्नै रेकर्ड तोड्दै नयाँ विश्व कीर्तिमान बनाए

1.17K
shares

काठमाडौं — सन् २०२६ को वसन्त ऋतुमा सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहणको काम सम्पन्न भएको छ। यस वर्ष ३१ वटा हिमाल चढ्नका लागि एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए।

अनुमति लिने आरोहीमध्ये सबैभन्दा धेरै चीनका एक सय ५९ जना थिए। त्यसपछि अमेरिकाका एक सय ५२, भारतका एक सय एक, जर्मनीका ७५, बेलायतका ७४ र रसियाका ७० जना थिए। नेपालका ४४ आरोहीले पनि यस वर्ष विभिन्न हिमाल आरोहणको अनुमति लिएका थिए।

सगरमाथा मात्रैका लागि ५६ देशका चार सय ९५ आरोहीले अनुमति लिएका थिए। यीमध्ये तीन सय ९० पुरुष र एक सय पाँच महिला थिए। अनुमतिप्राप्त आरोहीका साथमा सहयोगी र गाइडसमेत गरी एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन्। सगरमाथा चुच्चोमा पुग्नेमा यस वर्ष सबैभन्दा धेरै चीनका १०९ आरोही थिए। त्यसपछि अमेरिकाका ७७ र भारतका ६१ जना थिए।

यस वर्षको सबैभन्दा उल्लेखनीय उपलब्धि भनेको सोलुखुम्बुका कामिरीता शेर्पाले गत जेठ ३ गते ३२औँ पटक सगरमाथा चुच्चोमा पुगेर आफ्नै विश्व कीर्तिमान तोडेका हुन्। महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोड्दै नयाँ विश्व कीर्तिमान राखेकी छन्।

राजस्वका हिसाबले यो वर्ष सरकारका लागि उत्साहजनक रह्यो। सगरमाथा आरोहण अनुमतिबाट मात्रै एक खर्ब आठ करोडभन्दा बढी राजस्व उठेको छ। लोत्से, मकालु, आमादब्लम, कञ्चनजङ्गा र अन्नपूर्णलगायत अन्य हिमालबाट पनि राजस्व सङ्कलन भएको छ। समग्रमा यस वसन्त ऋतुमा हिमाल आरोहण अनुमतिबाट सरकारले एक अर्ब २६ करोड ४७ लाख बढी राजस्व सङ्कलन गरेको छ।