खर्बौं जोखिममा : शेयर बजार निरन्तर ओरालो
नेप्से दोहोरो अंकले घट्दै २६७४ बिन्दुमा; सर्वसाधारण लगानीकर्ता जोगाउन ‘कम्पनी विधेयक, २०८२’ मा कडा व्यवस्था
वि.सं.२०८३ असार ९ मंगलवार १६:०७
shares

काठमाडौं — नेपाल धितोपत्र बजारको प्रमुख परिसूचक नेप्से मंगलबार पनि दोहोरो अंकले घट्दै २६७४.४८ बिन्दुमा सीमित भएको छ। पछिल्ला केही दिनदेखि निरन्तर खस्किरहेको बजारले लगानीकर्ताको उत्साह मात्र होइन, खर्बौं रुपैयाँ बराबरको सम्पत्तिसमेत जोखिममा पर्न सक्ने अवस्था सिर्जना गरेको छ। यही पृष्ठभूमिमा सरकारले दोस्रो बजारका सर्वसाधारण लगानीकर्तालाई जोगाउन कम्पनी कानुनमै ठूलो सुधारको तयारी गरेको छ।
कारोबारको अन्त्यमा परिसूचक २६.१६ अंकले ओर्लिएसँगै बजारमा देखिएको शिथिलता थप गहिरिएको छ। नेप्से २७०० बिन्दुको मनोवैज्ञानिक तह तोडेर तल झर्दा लगानीकर्ताको आत्मविश्वासमा थप धक्का लागेको देखिन्छ।
बजार विश्लेषकहरू पछिल्लो गिरावटलाई राजनीतिक घटनाक्रम र नियामक निकायको सक्रियतासँग जोडेर हेर्न थालेका छन्। निर्वाचनको परिणामपछि केही समय उत्साहित बनेको बजार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठनपछि क्रमशः दबाबमा परेको उनीहरूको बुझाइ छ। नीतिगत दिशा अझै प्रस्ट नहुँदा लगानीकर्तामा अन्योल कायमै रहेको विश्लेषण छ।
सरकारी कर्मचारी तथा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरण, धितोपत्र कारोबार र बिमा कसुरसम्बन्धी अनुसन्धान अघि बढेका घटनाक्रमले बजार मनोविज्ञानमा नकारात्मक असर पारेको विश्लेषकहरू बताउँछन्। व्यवसायी दीपक भट्ट तथा शुलभ अग्रवालसहितका व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढेपछि लगानीकर्तामा सतर्कता थपिएको छ। यसैबीच, पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेपछि बजारमा नकारात्मक संकेत थप बलियो बनेको विश्लेषकहरूको दाबी छ।
पछिल्ला झन्डै पाँच कारोबार दिनसम्म नेप्से ठूलो उतारचढावबिना स्थिरजस्तै देखिए पनि मंगलबार भने एकै दिन दोहोरो अंकको गिरावट आएको हो। यस दिन परिसूचकसँगै कुल कारोबार रकममा समेत कमी आएको छ, जसले बजारमा क्रयशक्ति कमजोर बन्दै गएको संकेत गर्छ।
नेप्सेका अनुसार मंगलबार ३५३ वटा कम्पनीका १ करोड ४० हजार ८५८ कित्ता शेयर ७२ हजार ८५४ पटक खरिदबिक्री भएका छन्। यस दिन कुल ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्ला दिनको तुलनामा खुम्चिएको हो।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये १२ उपसमूह रातो क्षेत्रमा बन्द भएका छन्। म्युचुअल फन्ड उपसमूह मात्र ०.४५ प्रतिशतले बढ्न सफल भयो भने उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी १.९२ प्रतिशतले घट्यो। वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बिमा र व्यापार उपसमूहमा समेत एक प्रतिशतभन्दा बढीको गिरावट देखियो।
दिनभरको कारोबारमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन। मूल्य घट्ने कम्पनीको संख्या उल्लेख्य हुनुले बजारमा बिक्री चाप उच्च रहेको पुष्टि गर्छ।
मूल्य वृद्धिका हिसाबले टक्सार पिखुवा खोला जलविद्युत् र याम्बालिङ हाइड्रोपावरको शेयर मूल्य १४.९९ प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा पुग्यो। विपरीत, बुङ्गल हाइड्रोपावरको मूल्य १५ प्रतिशतले घटेर नकारात्मक सर्किटमा सीमित भयो भने एपोलो हाइड्रोपावरको मूल्य पनि ११ प्रतिशतभन्दा बढीले ओर्लियो।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो। यस कम्पनीको ३४ करोड १६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि सोपान फर्मास्युटिकल्सको करिब १९ करोड र रिलायन्स स्पिनिङ मिल्सको १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
नाफा सुरक्षित गर्ने प्रवृत्ति, संस्थागत लगानीकर्ताको कमजोर सहभागिता र नयाँ लगानीकर्ताको ‘पर्ख र हेर’ रणनीतिका कारण बजारमा दबाब कायम रहेको जानकारहरू बताउँछन्। नयाँ पुँजी प्रवेशमा आएको सुस्तता पनि बजार शिथिल हुनुको कारणका रूपमा हेरिएको छ।
यद्यपि बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहेको, ब्याजदर तुलनात्मक रूपमा न्यून रहेको र प्राथमिक बजारमा ठूला आईपीओ पाइपलाइनमा रहेकाले मध्यकालीन तथा दीर्घकालीन रूपमा बजारप्रति आशावाद कायमै रहेको विश्लेषकहरूको भनाइ छ। कम्पनीहरूको सुधारिँदो वित्तीय अवस्था, घट्दो ब्याजदर र अर्थतन्त्रमा क्रमशः देखिएको पुनरुत्थानले आगामी दिनमा बजारलाई पुनः टेवा दिन सक्ने आधार अझै बाँकी रहेको उनीहरूको विश्लेषण छ।
सर्वसाधारण जोगाउन कम्पनी विधेयकमा कडाइ
पुँजी बजारलाई थप सुरक्षित र पारदर्शी बनाउने उद्देश्यले सरकारले कम्पनी कानुनमै ठूलो फेरबदलको तयारी गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संसद्मा पेस गर्न लागेको ‘कम्पनी विधेयक, २०८२’ मा दोस्रो बजारका सर्वसाधारण लगानीकर्तालाई जोगाउने उद्देश्यका थुप्रै कडा व्यवस्था समेटिएका छन्।
विधेयकले मुख्यतः तीन क्षेत्रमा कडाइ गरेको छ — भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को नियन्त्रण, साधारण सेयर निष्कासनअघि धितोपत्र बोर्डको पूर्वस्वीकृति र सम्पूर्ण सेयरको अनिवार्य अभौतिकीकरण (डिम्याट)।
भित्री कारोबार रोक्न सञ्चालक वा निजका नजिकका नातेदारले गरेको सेयर कारोबारको विवरण कम्पनीले तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने र नेप्सेले त्यो विवरण तुरुन्तै सार्वजनिक गर्नुपर्ने व्यवस्था विधेयकमा छ। यसले कम्पनीभित्रका व्यक्तिले के गरिरहेका छन् भन्ने सर्वसाधारणले तत्कालै थाहा पाउने र कृत्रिम रूपमा मूल्य बढाएर सेयर भिडाउने प्रवृत्ति निरुत्साहित हुने अपेक्षा गरिएको छ।
त्यस्तै, अब कुनै पनि पब्लिक कम्पनीले धितोपत्र बोर्डको पूर्वस्वीकृतिबिना सर्वसाधारणमा सेयर वा ऋणपत्र बेच्न पाउने छैनन्। यसले झुटो वित्तीय विवरण देखाएर वा टाट पल्टिएको अवस्थामा समेत सर्वसाधारणको रकम उठाउने विकृति रोक्ने लक्ष्य राखेको छ।
विधेयकले कागजी सेयर प्रमाणपत्रको युग पनि अन्त्य गर्ने भएको छ। सार्वजनिक सेयर निष्कासन गर्ने कम्पनीले सेयर अभौतिक स्वरूपमै राख्नुपर्ने र पुराना कम्पनीले समेत ऐन लागू भएको एक वर्षभित्र भौतिक सेयर डिम्याटमा परिणत गर्नुपर्ने व्यवस्था छ। यसले किर्ते, नक्कली प्रमाणपत्र, हराउने वा चोरी हुनेजस्ता जोखिम हटाउने अपेक्षा गरिएको छ। जानकारका अनुसार यी सुधारले नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्डतर्फ डोर्याउन मद्दत गर्नेछन्।
प्राविधिक दृष्टिकोण : बजार बलियो बियरिश प्रवृत्तिमा
प्राविधिक हिसाबले बजारले अहिलेसम्म नयाँ ‘हायर हाई’ नबनाए पनि ‘लोअर लो’ भने बनाएको थिएन। तर मंगलबारको कारोबारमा नेप्सेले एउटा ‘लोअर लो’ क्यान्डल बनाएको छ, जसले बजारको कमजोरीलाई थप पुष्टि गरेको छ।

दिनको कारोबारमा बजार थोरै ग्यापडाउनसहित खुलेको थियो। बजार खुल्दाको बिन्दु (२६९९.४३) नै दिनको उच्च विन्दुनजिक रह्यो भने बन्द हुँदाको मूल्य दिनकै न्यून विन्दु (२६६९.३६) नजिक रह्यो। यसले दिनभर बिक्रेताहरूले बजारमा हालीमुहाली गरेको देखाउँछ।
करिब २६७० बिन्दु वरपरको ‘डबल बटम’ क्षेत्रमा बजारले सानो प्रतिक्रिया देखाएको छ। यो तह बजारका लागि एउटा साधारण सपोर्ट क्षेत्रका रूपमा रहेको छ। बजार यही तहबाट तल झर्न नसकेमा अल्पकालीन सहारा मिल्न सक्ने प्राविधिक संकेत देखिएको छ।
सापेक्षिक शक्ति परिसूचक (आरएसआई) मा लामो समयपछि बजारले ‘बियरिश डाइभर्जेन्स’ देखाएको छ। यद्यपि आरएसआई हाल ३०.४२ मा झर्दै ‘ओभरसोल्ड’ (अति बिक्री) क्षेत्रमा आइपुगेको छ। विगतको प्रवृत्ति हेर्दा बजार यस्तो ओभरसोल्ड क्षेत्रमा पुग्दा केही हदसम्म प्रतिक्रिया देखाउने गरेको छ।
२०० दिने चलायमान औसत (२०० एमए) २७०९.८५ बिन्दुमा रहेको छ। बजार आफ्नो यस दीर्घकालीन औसतभन्दा तल कारोबार भइरहेकाले समग्र प्रवृत्ति कमजोर रहेको देखिन्छ।
यदि बजारले ‘डबल बटम’ तह र ओभरसोल्ड आरएसआईलाई सम्मान गर्ने हो भने आगामी कारोबारमा एउटा ‘हरियो क्यान्डल’ बन्न सक्ने सम्भावना रहन्छ। तर यस्तो प्रतिक्रियात्मक उछाल आइहाले पनि त्यसलाई प्रवृत्ति परिवर्तन (ट्रेन्ड रिभर्सल) का रूपमा लिन नमिल्ने प्राविधिक विश्लेषकहरूको बुझाइ छ।
औसत दिशात्मक परिसूचक (एडीएक्स) हेर्दा भने बजारको घट्दो प्रवृत्ति झन्झन् बलियो बन्दै गएको देखिन्छ। यसले अल्पकालीन उछालका बाबजुद मूल प्रवृत्ति अझै ओरालो लागेकै रहेको संकेत गर्छ।
कारोबार रकमका हिसाबले बितेका दुई–तीन दिनको कारोबार लगभग स्थिरजस्तै देखिएको छ। साथै, ठूला दस ब्रोकरको कारोबार विश्लेषण गर्दा छ वटा ब्रोकरले किनेको भन्दा बढी बिक्री गरेको देखिन्छ, जसले बजारमा बिक्री दबाब कायमै रहेको पुष्टि गर्छ।
समग्रमा, नेप्से अहिले बलियो बियरिश प्रवृत्तितर्फ उन्मुख रहेको प्राविधिक संकेत देखिन्छ। तर ओभरसोल्ड क्षेत्र, डबल बटम सपोर्ट र विगतको प्रवृत्तिलाई आधार मान्दा अल्पकालीन प्रतिक्रियात्मक उछालको सम्भावना भने पूर्णतः टरेको छैन।
















