Dhulikhel Eco Banner new

तेस्रो पक्षको हस्तक्षेप भन्दै फिफाद्वारा एन्फा निलम्बन

1.17K
shares

काठमाडौँ — विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। फिफा काउन्सिलको ब्युरोले एन्फाको कामकारबाहीमा तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्षसहित निलम्बनको निर्णय गरेको हो।

फिफाले आफ्नो आधिकारिक सूचनामार्फत एन्फामा फिफा विधानको गम्भीर उल्लंघन भएको जनाएको छ। सदस्य संघहरूले स्वतन्त्र र स्वायत्त रूपमा सञ्चालन हुनुपर्ने व्यवस्था उल्लंघन भएको भन्दै फिफाले एन्फामाथि कारबाही गरेको हो।

फिफा विधानको धारा १४ अनुसार सदस्य संघहरूले आफ्नो प्रशासनिक, संस्थागत र फुटबलसम्बन्धी निर्णय स्वतन्त्र रूपमा गर्नुपर्ने हुन्छ। सरकारी, राजनीतिक वा अन्य बाह्य निकायबाट हुने हस्तक्षेपलाई फिफाले सदस्य संघको स्वायत्ततामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै आएको छ।

एन्फामाथिको निलम्बनले नेपाली फुटबलमा प्रत्यक्ष असर पर्ने देखिएको छ। निलम्बन कायम रहे नेपालका राष्ट्रिय टोली, उमेर समूहका टोली तथा क्लबहरूको अन्तर्राष्ट्रिय सहभागिता प्रभावित हुन सक्छ। फिफा र एएफसीअन्तर्गतका प्रतियोगितामा सहभागिता, विकास कार्यक्रम, प्रशिक्षण परियोजना र आर्थिक सहयोगमा समेत असर पर्ने सम्भावना छ।

पछिल्लो समय एन्फा र राष्ट्रिय खेलकुद परिषद्बीच संघको निर्वाचन, प्रशासनिक निर्णय र स्वायत्तताको विषयलाई लिएर विवाद बढ्दै आएको थियो। यसअघि पनि फिफा र एसियाली फुटबल महासंघ ९एएफसी० ले एन्फाको स्वायत्ततामा बाह्य हस्तक्षेप हुन नहुने चेतावनी दिँदै विवाद समाधानका लागि आग्रह गरेका थिए।

फिफाको निर्णयसँगै नेपाली फुटबल थप अनिश्चिततातर्फ धकेलिएको छ। लामो समयदेखि घरेलु लिग, संघको आन्तरिक विवाद र प्रशासनिक अस्थिरताले प्रभावित नेपाली फुटबलमा यो निर्णय गम्भीर धक्का मानिएको छ।

निलम्बन फुकुवा गर्न एन्फाको सञ्चालनमा देखिएको भनिएको बाह्य हस्तक्षेप अन्त्य हुनुपर्ने र संघले फिफा विधानअनुसार स्वतन्त्र रूपमा काम गर्न पाउने अवस्था सुनिश्चित हुनुपर्ने देखिन्छ।

फिफाको पछिल्लो निर्णयपछि नेपाली फुटबलका खेलाडी, क्लब, प्रशिक्षक र समर्थकमाझ चिन्ता बढेको छ। अन्तर्राष्ट्रिय अवसरसँगै फुटबल विकासका कार्यक्रमहरू रोकिने जोखिम देखिएकाले यो घटनालाई नेपाली फुटबलका लागि संवेदनशील मोडका रूपमा हेरिएको छ।