भेनेजुएलामा ३९ सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशंका
वि.सं.२०८३ असार ११ बिहीवार ०९:०३
shares

काराकास, असार ११ — दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार साँझ ३९ सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित आसपासका क्षेत्रमा व्यापक क्षति भएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने त्यसको केही सेकेन्डमै ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिमतर्फ मोरोन आसपासको क्षेत्रमा रहेको जनाइएको छ।
भूकम्पपछि काराकास र वरपरका क्षेत्रमा भवनहरू भत्किएको, सडक तथा सार्वजनिक पूर्वाधारमा क्षति पुगेको र सञ्चार तथा विद्युत् सेवा प्रभावित भएको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन्। केही बहुमञ्जिला भवनमा गम्भीर क्षति पुगेपछि स्थानीय बासिन्दा घर र कार्यालयबाट बाहिर निस्किएका थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्रमा प्रहरी, दमकल, स्वास्थ्यकर्मी र उद्धार टोली परिचालन गरिएको छ। भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारकार्य जारी छ। अस्पतालहरूलाई थप तयारी अवस्थामा राखिएको छ भने नागरिकलाई क्षतिग्रस्त भवन तथा जोखिमपूर्ण संरचनाबाट टाढा रहन आग्रह गरिएको छ।
यूएसजीएसले प्रारम्भिक मूल्यांकनमा ठूलो मानवीय तथा आर्थिक क्षतिको जोखिम औँल्याएको छ। यद्यपि समाचार तयार पार्दासम्म मृतक र घाइतेको आधिकारिक यकिन विवरण सार्वजनिक भइसकेको छैन।
भूकम्पपछि क्यारिबियन क्षेत्रका केही स्थानका लागि सुनामी चेतावनी जारी गरिएको भए पनि पछि फिर्ता लिइएको बताइएको छ। भूकम्पविद्हरूले यो घटनालाई दुर्लभ प्रकारको ‘डबलट अर्थक्वेक’ भनेका छन्, जसमा छोटो समयको अन्तरमा दुई ठूला भूकम्प जान्छन्।
भेनेजुएला क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमाक्षेत्रमा पर्ने भएकाले यो क्षेत्र भूकम्पीय जोखिममा रहेको मानिन्छ। अधिकारीहरूले परकम्पको सम्भावना कायमै रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।


















