Dhulikhel Eco Banner new

अमेरिकाको बाल्टिमोरमा बाजेको सेकुवाको २९औँ शाखा सञ्चालनमा

975
shares

काठमाडौं, १४ असार । नेपाली रेस्टुरेन्ट ब्रान्ड बाजेको सेकुवाले अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा आफ्नो २९औँ शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले सोमबार (जुन २९) देखि सफ्ट ओपनिङमार्फत सेवा सुरु गरेको हो भने ग्रान्ड ओपनिङ जुलाई १० मा गर्ने तयारी गरेको छ।

कम्पनीका अनुसार सफ्ट ओपनिङ अवधिमा सीमित ग्राहकलाई सेवा दिँदै रेस्टुरेन्टको सेवा, खाना र सञ्चालन प्रणालीको परीक्षण गरिनेछ। यस अवधिमा ग्राहकलाई विशेष छुट र अफरसमेत उपलब्ध गराइनेछ। जुलाई १० मा हुने ग्रान्ड ओपनिङमा सांस्कृतिक कार्यक्रम, नेपाली संगीत तथा विशेष नेपाली परिकारको प्रस्तुति रहने जनाइएको छ।

बाल्टिमोरको मध्यभागमा रहेको नयाँ शाखाले नेपाली तथा अमेरिकी ग्राहकलाई लक्षित गर्दै सेकुवा, मःम, दाल–भात–तरकारीलगायत विभिन्न नेपाली परिकार उपलब्ध गराउनेछ। रेस्टुरेन्टको आन्तरिक सजावटमा नेपाली कला, संस्कृति र परम्परालाई झल्काउने प्रयास गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले बाल्टिमोरमा बढ्दो नेपाली समुदाय र नेपाली खानाप्रति अमेरिकी ग्राहकको आकर्षणलाई मध्यनजर गर्दै नयाँ शाखा सञ्चालनमा ल्याइएको जनाएको छ। संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतले बाल्टिमोर शाखाले नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा थप विस्तार गर्ने विश्वास व्यक्त गरेका छन्।

काठमाडौंबाट यात्रा सुरु गरेको बाजेको सेकुवाले हाल नेपाल र विदेशमा गरी २९ शाखामार्फत सेवा प्रदान गरिरहेको छ। कम्पनीले आगामी दिनमा अमेरिका तथा अन्य देशमा पनि थप शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ।