Dhulikhel Eco Banner new

अमेरिका–इरान सैन्य कारबाही रोक्न सहमत, दोहामा वार्ता हुने

'स्ट्रेट अफ हर्मुज' मा व्यापारिक जहाजको आवागमन पुनः सुचारु हुने

1.17K
shares

मध्यपूर्वमा चार दिनदेखि जारी भीषण सैन्य तनावबिच अमेरिका र इरान तत्कालका लागि आक्रमण रोक्न सहमत भएका छन्। रोयटर्सका अनुसार दुवै पक्षबिच भएको यो आकस्मिक सहमतिले थप द्वन्द्व टार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो सहमतिसँगै विश्वको प्रमुख तेल आपूर्ति मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा व्यापारिक जहाजको आवागमन पुनः सुचारु हुने भएको छ। जुन १७ मा भएको १४ बुँदे प्रारम्भिक शान्ति सम्झौता संकटमा परेपछि स्थिति नियन्त्रण बाहिर जान नदिन यो निर्णय लिइएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

आइतबार बिहान इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अखडाहरूमा मिसाइल र ड्रोन प्रहार गरेको थियो। बहराइनमा एउटा आवासीय भवन क्षतिग्रस्त भयो भने कुवेतले दुई ब्यालिस्टिक मिसाइल हवाइमार्गमै ध्वस्त पारेको जनायो। आक्रमणका क्रममा एक कतारी नागरिकको ज्यान गएको छ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई कडा चेतावनी दिँदै सम्झौता नमाने देशको अस्तित्व नै संकटमा पर्ने धम्की दिएका थिए। यसैबिच इजरायलले पनि लेबनानमा हिज्बुल्लाहका भूमिगत संरचनामा हवाई आक्रमण जारी राखेको छ।

मंगलबार कतारको राजधानी दोहामा उच्चस्तरीय वार्ता पुनः सुरु हुने भएको छ। यो वार्तालाई मध्यपूर्वमा थप ठूलो युद्ध टार्ने अन्तिम कूटनीतिक प्रयासको रूपमा हेरिएको छ।