Dhulikhel Eco Banner new

देशका केही भागमा मनसुन सक्रिय, कोशीमा भारी वर्षाको चेतावनी

780
shares

मुलुकका पूर्वी र मध्य भागमा मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भागमा मनसुन सक्रिय छ भने गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा आंशिक प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ।

आगामी दुई–तीन दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन विस्तार हुने विभागले जनाएको छ।

आजको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी पनि जारी गरिएको छ।

राति पनि देशभर बादलमय रहनेछ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ।

कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा दिउँसो र राति हावाहुरीको समेत सम्भावना रहेकाले विभागले सतर्क रहन आग्रह गरेको छ।