‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत
वि.सं.२०८३ असार १५ सोमवार १३:१९
shares

काठमाडौं, १५ असार । कैलालीको गौरीगङ्गा नगरपालिका–१ मा सञ्चालन गरिएको करारखेती प्रवर्द्धन कार्यक्रमले किसानलाई राहत पुगेको छ ।
नगरपालिकाले स्थानीयको पाँच बिघा जमिन भाडामा लिएर कृषक समूहमार्फत तरकारी र फलफूलखेती गर्न थालेपछि कृषकलाई आयआर्जन गर्न ठूलो राहत मिलेको हो । स्थानीय जागृती पशु फलफूल तथा तरकारी कृषक समूहलाई विसं २०८१ देखि वार्षिक रु एक लाख ८३ हजारमा पाँच वर्षका लागि जग्गा भाडामा लिएर गत फागुनदेखि तरकारी र फलफूलखेती गराएको गौरीगङ्गा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बमले जानकारी दिए ।
उक्त जमिनमा समूहका पाँच जना कृषकले तरकारी तथा फलफूल उत्पादन गरी आत्मनिर्भर बनिरहेको उनको भनाइ छ । उक्त कार्यक्रम सफलतातिर उन्मुख रहेकाले नगरपालिकाको अन्य क्षेत्रमा पनि कार्यक्रम विस्तार गर्न लागेको छ ।
नगरपालिकाले जमिन सहुलियत भाडादरमा उपलब्ध गराएर तरकारीखेती गरिरहेको समूहका सचिव राजेश बुढाले बताए । कृषकले त्यस जमिनमा बेमौसमी तरकारी फर्सी, लौका, भिन्डी, बोडी, भान्टा, खुर्सानी, वसन्ते मकै उत्पादन गर्दै आएका छन् । उनीहरूले मौसमअनुसारको काउली, बन्दा, ब्रोकाउली, सिमी, गाजर, मुला, धनियाँ, भान्टा, आलु, मटर र गाजर उत्पादन गर्ने सोच बनाइसकेका छन् ।
बेमौसमी तरकारी उत्पादनबाट रु ७५ हजार र मौसमी तरकारीबाट रु चार लाख ५० हजारको बिक्री गर्दै आएको उनले बताए । समूहले उत्पादन गरेको तरकारी स्थानीय बजारमा खपत हुने भएकाले सबै खर्च कटाएर समूहमा रु एक लाख ५० हजार बचत भएको समूहले जनाएको छ ।
नगरपालिकाका कृषि प्राविधिक विनोद चौधरीले जमिन नभएका कृषकलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम सुरु गरेकामा छोटो समयमै सफल नतिजा प्राप्त भएको धारणा व्यक्त गरे ।

















