हालान्ड, मेसी र एमबाप्पे सात–सात गोलसहित गोल्डेन बुट दौडमा, प्रतिस्पर्धा तीव्र
वि.सं.२०८३ असार २२ सोमवार ०७:३०
shares

फिफा विश्वकपमा गोल्डेन बुटको प्रतिस्पर्धा झन् रोमाञ्चक बन्दै गएको छ। नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डले ब्राजिलविरुद्ध अन्तिम १६ को खेलमा दुई गोल थप्दै आफ्नो गोल संख्या सात पुर्याएका छन्। यससँगै उनी अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एमबाप्पेसँगै संयुक्त शीर्ष स्थानमा पुगेका छन्।
तीनै खेलाडीले हालसम्म समान सात–सात गोल गरेका छन् भने असिस्टका आधारमा एमबाप्पे अगाडि रहेका छन्। एमबाप्पेले दुई असिस्ट दिएका छन्, जबकि हालान्ड र मेसीले अहिलेसम्म असिस्ट गर्न सकेका छैनन्।
हालान्डले समूह चरणमा इराकविरुद्ध दुई तथा सेनेगलविरुद्ध दुई गोल गरेका थिए। त्यसपछि नकआउट चरणअन्तर्गत आइभोरी कोस्टविरुद्ध एक गोल गरेका उनले ब्राजिलविरुद्ध दुई गोल थप्दै सात गोल पूरा गरेका हुन्।
उता, मेसीले समूह चरणमै आक्रामक प्रदर्शन गर्दै अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए। त्यसपछि अस्ट्रियाविरुद्ध दुई तथा जोर्डनविरुद्ध एक गोल गर्दै उनले पनि सात गोलको आँकडा पुर्याएका छन्। अन्तिम ३२ को खेलमा केप भर्डविरुद्ध थप एक गोल गरेका थिए।
एमबाप्पेले समूह चरणमा सेनेगल र इराकविरुद्ध समान दुई–दुई गोल गरेका थिए। त्यसपछि अन्तिम ३२ मा स्वीडेनविरुद्ध दुई गोल तथा अन्तिम १६ मा पाराग्वेविरुद्ध एक गोल गर्दै सात गोल पूरा गरेका हुन्। उनले दुई असिस्ट पनि आफ्नो नाममा दर्ता गरेका छन्।
यसैबीच इंग्ल्याण्डका ह्यारी केन पाँच गोलसहित गोल्डेन बुट दौडमा सक्रिय रहेका छन्। इंग्ल्याण्डले सह–आयोजक मेक्सिकोविरुद्धको खेल जारी राखेको छ।
क्वार्टरफाइनल प्रवेशअघि नै विश्वका शीर्ष स्ट्राइकरहरू समान गोलसंख्यामा पुगेपछि आगामी खेलहरूले गोल्डेन बुटको प्रतिस्पर्धा अझ रोचक बनाउने अपेक्षा गरिएको छ।



















