Dhulikhel Eco Banner new

प्रभु लाइफको साधारणसभा सम्पन्न, हकप्रद र मर्जरको अख्तियारी सञ्चालक समितिलाई

4.59K
shares

काठमाडौं, २३ असार । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ ।
मर्जरको लागि आवश्यक काम प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ । विशेष प्रस्तावका अतिरिक्त हकप्रदको निर्णय पनि लिन पाउने अधिकार थप गरिएको छ । उक्त थप गरिएको प्रस्ताव आज सम्पन्न साधारणसभाले पारित गरेको छ ।

हकप्रद कति प्रतिशत ल्याउने भन्ने जिम्मा संचालक समितिलाई सभाले अख्तियारी दिएको छ । कम्पनी ऐनको दफा ६७ मा भएको ब्यबस्था अनुसार सभाले हकप्रद निष्कासनको एजेन्डा थपेको हो ।

कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा गर्ने मिति तय गरेको थियो । सभा अम्रपाली बैङक्वेट भाटभटेनी काठमाडौंमा विहान ११ः४५ बजेबाट सुरु भएको थियो ।

सभाले नियामक निकाय बीमा समितिले तोके बमोजिम कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने व्यवस्थामा संशोधन गरेको छ ।

सभाले संस्थापक समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ । साथै, पूँजी बृद्धिको आवश्यक्तालाई ध्यानमा राखी भविष्यमा अन्य कुनै कम्पनीसँग एक आपसमा मर्जरमा जाने वा गाभ्ने गाभिने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङकन गर्न मुल्यांङकनकर्ता वा लेखापरीक्षकहरुको नियुक्ती गर्ने, नीजहरुको पारीश्रमिक तोक्ने, अन्य कुनै कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्नका लागि संचालक समितिलाई पुर्ण अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।