Dhulikhel Eco Banner new

ललिता प्रसाईको समावेशी शिक्षा अभियानअन्तर्गत ३०० बढी बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण

1.34K
shares

काठमाडौं, २२ असार । अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गर्दै आयोजित दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा ३०० भन्दा बढी बालबालिकाले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्।

विशालनगरस्थित वेन्डी हाउस स्कूल परिसरमा आयोजित शिविरमा बालरोग, मनोचिकित्सा, मनोविज्ञान, आँखा, दन्त, अकुपेसनल थेरापी, स्पिच थेरापी, न्युरो फिजियोथेरापी तथा परामर्श सेवासहित बहुआयामिक स्वास्थ्य परीक्षण गरिएको थियो। शिविर विशेषगरी अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक पहिचान, नियमित अनुगमन र आवश्यक उपचारलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको थियो।

नेपालमा समावेशी शिक्षाको अभ्यास अझै चुनौतीपूर्ण रहेको अवस्थामा यस्तो अभियानले हजारौँ अभिभावकलाई आशा र भरोसा दिएको सहभागीहरूको भनाइ छ। आर्थिक अभावका कारण विशेषज्ञ सेवा लिन नसक्ने परिवारका लागि यो शिविर प्रभावकारी अवसर बनेको देखिएको छ।
यस अभियानको नेतृत्व गरिरहेकी ललिता प्रसाईले विगत तीन दशकभन्दा लामो समयदेखि सबैका लागि शिक्षा भन्ने अवधारणालाई व्यवहारमा उतार्दै आएकि छन् ।

उनको नेतृत्वमा वेन्डी हाउस स्कूलसँगै सेन्टर फर अटिजम र वेन्डी इन्क्लुसिभ एजुकेसन स्थापना भई अटिजम, बौद्धिक अपाङ्गता तथा विशेष आवश्यकता भएका बालबालिकालाई शिक्षा, थेरापी, प्रारम्भिक हस्तक्षेप र पुनःस्थापनामूलक सेवा एकै स्थानबाट उपलब्ध गराउने अभ्यास विकास गरिएको छ। शिक्षालाई केवल कक्षाकोठामा सीमित नराखी स्वास्थ्य, मनोसामाजिक सहयोग र पारिवारिक सशक्तीकरणसँग जोड्ने ललिता प्रसाईको अवधारणाले नेपालमा समावेशी शिक्षाको बहसलाई व्यवहारिक मोड दिएको शिक्षा क्षेत्रका जानकारहरूको मूल्याङ्कन छ।

विशेष आवश्यकता भएका बालबालिकालाई समाजको मूलधारमा जोड्ने उनको निरन्तर प्रयासले नेपालमा समावेशी शिक्षा अभियानलाई नयाँ उचाइ दिएको मानिन्छ। यस प्रकारका स्वास्थ्य शिविरले बालबालिकाको स्वास्थ्य परीक्षण मात्र होइन, समावेशी समाज निर्माणतर्फ राज्य, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई पनि बलियो बनाएको सन्देश दिएको छ। विशेषज्ञ सेवा सबैको पहुँचमा पुर्‍याउने यस्ता अभियान निरन्तर विस्तार हुनुपर्ने आवश्यकता सहभागीहरूले औँल्याएका छन्।