सुरक्षा निकायका कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
वि.सं.२०८३ असार २५ बिहीवार ११:५८
shares

काठमाडौं, २५ असार । लैनचौरस्थित राष्ट्रिय किताबखाना (प्रहरी)ले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रका प्रहरीतर्फका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।
किताबखानाले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र, अर्थात् आगामी भदौ २९ गतेभित्र सम्पत्ति विवरण फाराम सम्बन्धित कार्यालयमार्फत राष्ट्रिय किताबखाना (प्रहरी)मा बुझाउन आग्रह गरेको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(क) को उपदफा (१) तथा सम्बन्धित सेवा समूह सञ्चालन गर्ने नियमावलीबमोजिम सबै सम्बन्धित कर्मचारीले तोकिएको ढाँचामा सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको किताबखानाले जनाएको छ।
किताबखानाका अनुसार तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा ९३० बमोजिम सम्बन्धित कर्मचारीलाई १० हजार रुपैयाँ जरिवाना गरिनेछ।

















