Dhulikhel Eco Banner new

भारतलाई युरेनियम निर्यात गर्न अस्ट्रेलिया सहमत

442
shares

काठमाडौं, २५ असार । अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच भएको वार्तापछि आणविक ऊर्जा सहयोगसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ।

संयुक्त विज्ञप्तिअनुसार उक्त सम्झौताले शान्तिपूर्ण प्रयोजनका लागि अस्ट्रेलियाबाट भारतमा दीर्घकालीन युरेनियम निर्यातको अनुमति दिएको छ। युरेनियम आपूर्ति अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आईएईए०ले तोकेका सुरक्षा मापदण्डअनुसार हुने जनाइएको छ।

यससँगै भारतले अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने बाटो खुलेको छ, जसले भारतको आणविक ऊर्जा उत्पादन विस्तार गर्ने योजनालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री मोदीले विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको भारतमा ऊर्जा माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजना प्रस्तुत गरेका थिए।

अस्ट्रेलियामा विश्वको कुल युरेनियम स्रोतको करिब २८ प्रतिशत रहेको अनुमान गरिन्छ। तर कानुनी अवरोध र राजनीतिक संवेदनशीलताका कारण यसअघि भारततर्फ युरेनियम निर्यात सहज हुन सकेको थिएन।

अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले यस सम्झौताले भारतमा युरेनियम निर्यात सहज बनाउने र जीवाश्म इन्धनमा निर्भरता घटाउँदै स्वच्छ ऊर्जा विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भारतसँगको सम्बन्ध सुदृढ बनाउन प्रधानमन्त्री मोदीको नेतृत्व महत्त्वपूर्ण रहेको पनि बताए।

मोदीको अस्ट्रेलिया भ्रमणका क्रममा मेलबर्नस्थित एक रंगशालामा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ। भ्रमण सम्पन्न भएपछि भारतीय प्रधानमन्त्रीको न्युजिल्यान्ड भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ।