Dhulikhel Eco Banner new

होर्मुज स्ट्रेटमा समुद्री माइनमा ठोक्किएर तेल ट्यांकरमा आगलागी

715
shares

काठमाडौं, ११ साउन । स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर तेल ट्यांकरमा आगलागी भएको छ । ट्यांकर तेहरानले तोकेको समुद्री मार्ग छाडेर अर्को बाटोबाट गुज्रिरहेको तेल ट्यांकर बारूदी सुरङमा ठोक्किएको थियो ।

इरानले यसअघि पनि आफ्ना अधिकारीहरूले निर्धारण गरेको मार्गभन्दा बाहिरबाट जहाज सञ्चालन गरे त्यसको जिम्मेवारी सम्बन्धित जहाज स्वयंले लिनुपर्ने चेतावनी दिँदै आएको थियो । यद्यपि यस घटनाबारे इरानी अधिकारीहरूले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । घटनामा भएको क्षति वा मानवीय हताहतबारे पनि पुष्टि भएको छैन । फेब्रुअरीदेखि अमेरिका–इरानबीच सैन्य द्वन्द्व सुरु भएपछि कुनै जहाज समुद्री माइनमा परेको यो पहिलो घटना हो ।

होर्मुज स्ट्रेटमा इरानले द्वन्द्वका क्रममा नेभल माइन बिछाएको थियो । युद्धविरामपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती माइन हटाउन निर्देशन दिएका थिए। यसबीच पछिल्लो २४ घण्टामा क्षेत्रीय सुरक्षासँग सम्बन्धित थप पाँच महत्वपूर्ण घटनाक्रम सार्वजनिक भएका छन् । इरान सरकारले इन्धनको बढ्दो खपत नियन्त्रण गर्न पेट्रोलको मूल्य वृद्धि गर्ने विषयमा छलफल गरिरहेको छ । अमेरिकाले अमेरिका शुक्रबार राति इरानमाथि कुनै सैन्य आक्रमण नगरेको बताएको छ ।

यसअघि लगातार १३ रातसम्म अमेरिकी सेनाले इरानी सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको थियो । इरानले बहराइनमा रहेको अमेरिकी पाँचौं नौसैनिक बेडाको मुख्यालयलाई ड्रोन र मिसाइलमार्फत आक्रमण गरेको दाबी गरिएको छ । हाल यी अधिकांश घटनाबारे स्वतन्त्र स्रोतबाट पूर्ण पुष्टि हुन बाँकी रहेकाले वास्तविक क्षति र प्रभावबारे थप आधिकारिक विवरण आउन बाँकी छ ।