नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारी मात्र चल्ने
वि.सं.२०८३ साउन ११ सोमवार १२:१५
shares

काठमाडौँ, ११ साउन । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उदघाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उदघाटन गरेका हुन् । आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन । सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ ।
करिब तीन महिनासम्म परीक्षणकाल सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ । सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । मुख्य सुरुङको ब्रेकथ्रु भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । अहिले बालेन प्रधानमन्त्री भएका बेला सुरुङमार्ग औपचारिक उदघाटन गरिएको छ । परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने आयोजनाले जनाएको छ । नियमित सञ्चालनपछि भने सवारीको प्रकारअनुसार शुल्क लाग्नेछ ।
सडक विभागका अनुसार कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । बस तथा ठूला ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ । यसअघि मन्त्रिपरिषद्ले सवारीसाधनको प्रकारअनुसार ६० देखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिसकेको छ ।
पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन, साथै डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ ।

















