नापतौल यन्त्रको अवैध प्रयोग गर्ने दुई हजार ४३१ व्यावसायिक फर्मलाई कारबाही
वि.सं.२०८३ साउन १२ मंगलवार १६:१८
shares

काठमाडौं, १२ साउन । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका दुई हजार चार सय ३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही गरिएको छ ।
नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा स्टाण्र्डड नापतौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कानुनी कारवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिए । गण्डकी प्रदेशमा पर्ने कास्की, गोरखा, लम्जुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका सञ्चालकलाई उक्त ऐनअनुसार कारबाही गरिएको हो ।
त्यसैगरी सो कार्यालयले नयाँ कारोबारका लागि एक हजार ७८ र पुरानो २८ वटा व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौलयन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न शीर्षकबाट रु ७८ लाख ५२ हजार नौ सय ६७ राजस्व सङ्कलन गरेको छ ।
















