Dhulikhel Eco Banner new

इरानविरुद्ध सैन्य कारबाहीमा ट्रम्पको अधिकार सीमित गर्ने सिनेट प्रस्ताव एक मतले असफल

676
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही गर्दा संसदको अनुमति लिनैपर्ने बाध्यकारी व्यवस्था लागू गर्ने प्रयास सिनेटमा एक मतको अन्तरले असफल भएको छ। बिहीबार भएको मतदानमा प्रस्ताव ४९–५० मतान्तरले अस्वीकृत भयो।

मतदानमा पेन्सिलभेनियाका रिपब्लिकन सिनेटर डेभ म्याककर्मिक अनुपस्थित रहे। उनको अनुपस्थितिले प्रस्ताव पारित हुन आवश्यक बहुमत जुट्न नसकेको विश्लेषकहरूको भनाइ छ।

यो विधेयक हाल सिनेटको विदेश मामिला समितिमा अड्किएको अवस्थामा छ। प्रस्तावका समर्थक सांसदहरूले यसलाई पूर्ण सिनेटमा लैजाने प्रयास गरेका थिए, तर आवश्यक समर्थन नजुटेपछि पुनः नयाँ प्रक्रियाबाटै अगाडि बढाउनुपर्ने बाध्यता आएको छ।

प्रस्ताव पारित भएको भए इरानविरुद्ध कुनै पनि सैन्य अभियान सुरु गर्नुअघि राष्ट्रपतिले अनिवार्य रूपमा कंग्रेसको स्वीकृति लिनुपर्ने थियो। राष्ट्रपतिको एकल निर्णयका आधारमा सैन्य हस्तक्षेप गर्न कानुनी बाधा खडा हुने थियो।

विपक्षी डेमोक्र्याट सांसदहरूले ट्रम्पले कंग्रेसको स्वीकृतिबिनै इरानमाथि सैन्य आक्रमण गरेको भन्दै आलोचना गर्दै आएका छन्। उनीहरूको भनाइमा युद्ध वा सैन्य हस्तक्षेपजस्ता संवेदनशील विषयमा जनप्रतिनिधिमूलक संस्थाको भूमिका सुनिश्चित हुनुपर्छ।

प्रस्ताव असफल भएसँगै राष्ट्रपति ट्रम्पले विद्यमान कानुनी अधिकारअन्तर्गत इरानसम्बन्धी सैन्य निर्णय लिने क्षमता कायमै राखेका छन्। इरान–अमेरिका तनाव जारी रहेका बेला आगामी दिनमा सिनेटमा यो विषयमा पुनः बहस हुने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।