सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने
वि.सं.२०८३ साउन १८ सोमवार १२:०३
shares

काठमाडौँ, १८ साउन । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्ज हुने भएको छ। दुवै संस्थाले एकीकृत भएर थप सशक्त संस्था निर्माण गर्ने उद्देश्यका साथ मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन्।
काभ्रेपलाञ्चोकको साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो। संस्थाले देशका विभिन्न जिल्लामा शाखा सञ्जालमार्फत विपन्न तथा ग्रामीण समुदायलाई बचत, कर्जा तथा वित्तीय साक्षरतासम्बन्धी सेवा प्रदान गर्दै आएको छ। वित्तीय पहुँच विस्तार र समावेशी बैंकिङमा यसको महत्वपूर्ण योगदान रहँदै आएको छ। सामुदायिक लघुवित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिलिप पोखरेलले दुवै लघुवित्त एक भएर अगाडि बढ्ने बताए ।
यस्तै, सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेड पनि लघुवित्त क्षेत्रमा स्थापित संस्था हो। संस्थाले विशेषगरी ग्रामीण क्षेत्रका महिला, साना उद्यमी तथा न्यून आय भएका परिवारलाई लक्षित गरी लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ। आयआर्जन वृद्धि, उद्यमशीलता विकास र वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्दै संस्थाले आफ्नो सेवा विस्तार गर्दै आएको छ।
दुवै संस्थाको मर्जरपछि पुँजी आधार थप मजबुत हुने, शाखा सञ्जाल विस्तार हुने, सञ्चालन लागत घट्ने तथा ग्राहकलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, एकीकृत संस्थाले लघुवित्त क्षेत्रमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता समेत बढाउने विश्वास गरिएको छ।
मर्जरसम्बन्धी आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि एकीकृत संस्थाले औपचारिक रूपमा कारोबार सञ्चालन गर्नेछ।
















