Dhulikhel Eco Banner new

रसुवा बाढी : ९ वटा बैंकका शाखा कार्यालयमा क्षति

1.73K
shares

काठमाडौं, १० भदौ । रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा रहेका विभिन्न वाणिज्य बैंकका ९ वटा शाखा कार्यालयमा क्षति पुगेको छ। बाढीका कारण अधिकांश शाखाका भवन तथा भौतिक संरचना बगेर पूर्ण रूपमा क्षतिग्रस्त भएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिएका छन्।

कोइरालाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका सबै ९ वटा बैंक शाखामा क्षति पुगेको प्रारम्भिक अनुमान छ। उनले बाढी प्रभावित क्षेत्रमा सम्पर्क स्थापित हुन नसक्दा क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको बताए।

बाढी प्रभावित शाखामा कार्यरत आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कविहीन रहेको संघले जनाएको छ। केही कर्मचारी भने सम्पर्कमा आएर आफूहरू सुरक्षित रहेको जानकारी गराए पनि कार्यालयका संरचना भने बाढीले बगाएको बताएका छन्। रसुवाको प्रभावित क्षेत्रमा नबिल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंकलगायतका वाणिज्य बैंकका शाखा सञ्चालनमा थिए।

क्षतिग्रस्त बैंक शाखाको यकिन विवरण संकलन गर्ने प्रयास भइरहेको नेपाल बैंकर्स संघले जनाएको छ। साथै, सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ।