देशभर जनैपूर्णिमा : नयाँ जनै फेर्नेदेखि क्वाँटी खाने र राखी बाँध्नेसम्म
वि.सं.२०८३ भदौ १२ शुक्रवार ०६:५४
shares

काठमाडौं — वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर जनैपूर्णिमा (ऋषितर्पणी) पर्व श्रद्धा र उल्लासका साथ मनाउँदैछन् । श्रावण शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्वमा बिहानै नदी, तलाउ वा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ । मन्त्रिएको रक्षासूत्रले नकारात्मक शक्तिबाट बचाउने धार्मिक विश्वास छ ।
विशेषगरी तागाधारी समुदायले आजै स्नान र पूजापाठपछि पुरानो जनै निकालेर नयाँ जनै (यज्ञोपवीत) धारण गर्ने गर्छन् । यसै दिन कश्यप, अत्रि, विश्वामित्रलगायतका आठ ऋषिलाई तर्पण दिइने भएकाले यसलाई ‘ऋषितर्पणी’ पनि भनिन्छ ।
जनैपूर्णिमाको अर्को महत्वपूर्ण सांस्कृतिक विशेषता ‘क्वाँटी’ हो । विभिन्न थरीका गेडागुडी भिजाएर टुसा उमारेर बनाइने क्वाँटी खानाले वर्षायाममा शरीरलाई न्यानो र ऊर्जा मिल्ने वैज्ञानिक तथा आयुर्वेदिक मान्यता छ ।
त्यस्तै, तराई–मधेसमा आजकै दिन दिदीबहिनीले दाजुभाइको हातमा ‘राखी’ बाँधेर आपसी प्रेम र सद्भाव साटासाट गर्ने गरिन्छ । पछिल्ला वर्षहरूमा राखी बाँध्ने यो चलन पहाडी सहरहरूमा पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ ।
पर्वको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वरदेखि रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी, जुम्लाको दानसाधु र नवलपरासीको त्रिवेणीधामलगायत देशभरका तीर्थस्थलमा बिहानैदेखि श्रद्धालुको बाक्लो घुइँचो लागेको छ ।

















