Dhulikhel Eco Banner new

सानिमा बैंकले घोषणा गर्‍यो १० प्रतिशत नगद लाभांश, खुद नाफा ३८ प्रतिशतले बढेको दाबी

273
shares

काठमाडौं — सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको हालै सम्पन्न बैठकले करसहितको उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित योजनाअनुसार बैंकले हाल कायम १३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको चुक्ता पुँजीका आधारमा साधारण सेयरधनीलाई १० प्रतिशत र ८.२५ प्रतिशत अग्राधिकार सेयरधनीलाई समेत नियमानुसार लाभांश उपलब्ध गराउनेछ । सञ्चालक समितिले अघि बढाएको यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाको अनुमोदनपश्चात् मात्र सेयरधनीको खातामा पुग्नेछ ।

समीक्षा वर्षमा बैंकको वित्तीय कार्यसम्पादन उत्साहजनक देखिएको छ । बैंकले यस अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.०१ प्रतिशतले बढी हो । यस्तै, नियमनकारी समायोजनपछिको वितरणयोग्य मुनाफा पनि बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

देशभर १३४ वटा शाखा र १२७ वटा एटिएम सञ्जालमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको बलियो नाफा तथा लाभांश घोषणाले लगानीकर्ताहरूलाई राहत दिएको छ ।