बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन, तीज कार्यक्रमबारे निर्णय अगस्ट ३० मा
वि.सं.२०८३ भदौ १२ शुक्रवार १३:३२
shares

काठमाडौं, १२ भदौ। नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका नेपाली सङ्घ–संस्थाले एनआरएनए एनसीसी नर्वे मार्फत राहत सङ्कलन गर्ने निर्णय गरेका छन्।
राहत सङ्कलन तथा नेपोस नर्वे ले सेप्टेम्बर १३ मा प्रस्ताव गरेको हरितालिका तीज कार्यक्रमबारे विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिबीच भएको छलफलमा राहत अभियानलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहकार्य गर्ने सहमति भएको हो।
बैठकमा प्रवासी नेपाली एकता मञ्च, जेएसएस नर्वे, रागोस, तामाङ समाज, मगर समाज, नेपाली जनप्रगतिशील मञ्च, एनआरएनए नर्वे, नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपोस नर्वे, प्रवासी नेपाली सम्पर्क विभाग र माना मागफोल्डका प्रतिनिधिहरू सहभागी थिए।
सहभागीहरूले बाढी–पहिरो प्रभावित परिवारलाई तत्काल सहयोग आवश्यक रहेको भन्दै राहत सङ्कलन गरी यथाशीघ्र प्रभावितसमक्ष पुर्याउनुपर्नेमा जोड दिए। राहत अभियानमा नर्वेमा रहेका नेपाली समुदाय तथा विभिन्न सङ्घ–संस्थालाई सहभागी गराउने विषयमा पनि छलफल भएको थियो।
प्रस्तावित तीज कार्यक्रमबारे उठेका जिज्ञासा र प्राप्त सुझावमाथि अगस्ट ३० गतेनेपोस नर्वेको पूर्ण बैठकमा छलफल गरिने भएको छ। सोही बैठकपछि कार्यक्रम आयोजना गर्ने वा नगर्नेबारे अन्तिम निर्णय सार्वजनिक गरिनेछ।
नेपोस नर्वे का अनुसार कार्यक्रमसम्बन्धी निर्णय गर्दा एनआरएनए केन्द्रीय समिति, युरोप क्षेत्रीय समिति तथा नेपाल सरकारका सम्बन्धित निर्णय र निर्देशनलाई आधार मानिनेछ।
बैठकको समापन गर्दै नेपोस नर्वेका अध्यक्ष प्रेम परियारले सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै राहत अभियान तथा कार्यक्रम व्यवस्थापनमा नेपाली सङ्घ–संस्थाबीच सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।


















