Dhulikhel Eco Banner new

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित

832
shares

काठमाडौं, २४ भदौ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र निर्मित जेनजी सहिदहरुको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।

अधिकांश जेनजी सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि आज अनावरण हुन नसकेको हो ।

गत वर्ष भदौ २३ मा भएको जेनजी आन्दोलनमा सहिद भएका युवाहरुको शालिक बनाउने निर्णय सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रीपरिषदले गरेको थियो । सोही सरकारका पालामा निर्माण थालिएर अहिले सम्पन्न भएको हो ।

भदौ २३ को एक वर्ष पुरा भएको अवसरमा आज शालिक अनावरण गर्न लागिएको थियो ।

अनावरण कार्यक्रममा सबै सहिद परिवारहरु निम्त्याइएका थिए । गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्साल पनि शालिकस्थलमा आइसकेका थिए । यस्तै सुशीला सरकारका सञ्चारमन्त्री जगदिश खरेलदेखि सांसद तोसिमा कार्की सम्मको उपस्थिति थियो ।

औपचारिक अनावरणपूर्व परिवारका सदस्यले सम्बन्धित सहिदको शालिक हेर्न पर्दा उघारे । तर कसैले पनि चित्त बुझाएनन् । आफूहरुले दिएको तस्विरभन्दा शालिकको अनुहार फरक परेको उनीहरुको गुनासो थियो ।

उनीहरुले मन्त्रीहरुलाई पनि सो गुनासो राखेपछि अनावरण कार्यक्रम स्थगित गरिएको छ । अब एक महिनाभित्र सबै शालिकहरुलाई पुनर्निर्माण गरिने मन्त्रीहरुले बताएका छन् ।

एक सहिद परिवारका सदस्यले काममा हेलचेक्राईं भएको बताए । उनले भने, ‘२४र२५ वर्षको व्यक्तिलाई ४०र४५ वर्षको जस्तो बनाइदिएको छ । कसरी स्वीकार गर्ने र ?’

निर्माण समितिले प्रतिमा पुनर्निर्माण गरी एक महिनाभित्र नयाँ शालिक तयार गर्ने जनाएको छ।