लायन्स र चु जि च्यारिटीको सहकार्यमा सरसफाइ सम्पन्न
वि.सं.२०८३ भदौ २४ बुधवार १४:२९
shares

काठमाडौं, २४ भदौ । गत हप्ता लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एच नेपालको सहकार्यमा धादिङको बैरेनी अस्पताल तथा बैरेनीस्थित बागेश्वरी उच्च माध्यमिक विद्यालयमा विशेष सरसफाई अभियान सम्पन्न भएको छ। चु जि च्यारिटी फाउन्डेसनको अनुरोध तथा सहकार्यमा सञ्चालन गरिएको उक्त सेवामूलक अभियानमा विभिन्न दिनमा लायन्स लिडर तथा स्वयंसेवकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
अभियानअन्तर्गत २०८३ साल भाद्र ९ गते गएको बाढीका कारण अस्पताल तथा विद्यालय परिसरमा जम्मा भएको हिलो, माटो तथा फोहोर हटाई परिसरलाई सफा, सुरक्षित र व्यवस्थित बनाउने कार्य गरिएको थियो।
भदौ २० गते जीएलटी कोअर्डिनेटर लायन सञ्जीवकुमार पाण्डे, जीएसटी कोअर्डिनेटर लायन मुकुन्दप्रसाद मैनाली, जीएमए कोअर्डिनेटर लायन नारायणी लामिछाने महर्जन, डिस्ट्रिक्ट चिफ लायन सुरेन्द्र ब्यञ्जनकार र जीईटी कोअर्डिनेटर लायन रामकृष्ण न्यौपाने को नेतृत्वमा १९ जना स्वयंसेवक सहभागी भएका थिए।
त्यसैगरी, भदौ २१ गते रिजन चेयरपर्सन लायन युबिका श्रेष्ठको नेतृत्वमा २१ जना, भदौ २२ गते लायन विवेक त्रिपाठीको नेतृत्वमा १६ जना तथा भदौ २३ गते 2nd VDG Ramkrishna Bc को नेतृत्वमा २६ जना लायन्स स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।
स्वयंसेवकहरूले उत्साह र समर्पणका साथ सरसफाई कार्यमा सहभागी हुँदै अस्पताल तथा विद्यालय परिसरमा जमेको हिलो, माटो तथा फोहोर हटाएर परिसरलाई सफा र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्याएका थिए।
समुदायको स्वास्थ्य, शिक्षा र स्वच्छ वातावरणप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस अभियानले लायन्सको “We Serve” भन्ने मूल भावनालाई व्यवहारमा उतार्दै समुदायसँगको सहकार्य र सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
अभियानका लागि यातायात तथा खाना–खाजाको व्यवस्थापन चु जि च्यारिटी फाउन्डेसन बाट गरिएको थियो। लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ एच नेपालको नेतृत्व तथा चु जि च्यारिटी फाउन्डेसनको सहकार्यमा सम्पन्न यस अभियानले सेवा, सहकार्य र मानवीय भावनालाई थप मजबुत बनाउँदै समुदायको हितमा निरन्तर काम गर्ने प्रतिबद्धतालाई उजागर गरेको छ।


















