Dhulikhel Eco Banner new

उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द

5.66K
shares

काठमाडौं, २८ असार । उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । सरकारी लगानीको यो उद्योगमा विद्युत अभावका कारण उत्पादन बन्द हुन गएको हो ।

उद्योग पूर्ण रुपमा सञ्चालन गर्नका लागि ६ मेगावाट विद्युत आवश्यक पर्ने भए पनि हाल २ मेगावाट मात्रै विद्युत आपूर्ति भइरहेको र यसबाट उत्पादन कार्य रोकिएको उद्योगका निमित्त महाप्रवन्धक गोपी न्यौपानेले जानकारी दिए ।

आर्थिक वर्षको अन्तिम समयमा विद्युत अभावका कारण लक्ष्य अनुसारको उत्पादन गर्न नसकिएको न्यौपानेको भनाइ छ । उद्योगले चालू आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको थियो । उद्योगले हालसम्म २२ लाख बोरा सिमेन्ट उत्पादन गरेर बजारमा पठाइसकिएको उद्योगका निमित्त महाप्रवन्धक न्यौपानेले बताए ।

असार ९ गते लहानमा रहेको विद्युतको टावरमा चट्याङले क्षति पुर्‍याएपछि विद्युत आपूर्ती बन्द भएको र त्यसपछि सोलु करिडोरबाट विद्युत व्यवस्था भए पनि त्यो पर्याप्त नभएको न्यौपानको भनाइ छ । उद्योगलाई ६ मेगावाट विद्युतको आवश्यकता भए पनि सोलु करिडोर मार्फत २ मेगावाट मात्रै विद्युत उपलब्ध भएकाले उत्पादन कार्य रोकिएको हो ।

दैनिक रुपमा १६ हजार बोरा उत्पादन क्षमता भएको उद्योगले त्यसको आधा मात्रै उत्पादन गरिरहेको छ । सो उत्पादन पनि विद्युत आपूर्तीमा देखिएको समस्याले अबरुद्ध भएको हो । ‘विद्युत आपूर्ती बन्द भएका कारण हामी लक्ष्यमा पुग्न सकेनौँ, तर ९२ प्रतिशत उत्पादन हुनु पनि राम्रै उपलब्धी हो,’ निमित्त महाप्रवन्धक न्यौपानेले भने ।

उद्योगले ३३ केभीए बाट विद्युत आपूर्तीको लागि कुरा गरिरहेको र त्यस पछि यस्तो समस्या नआउने पनि न्यौपानेको भनाइ छ । ‘अहिले उद्योगले ११ केभीएबाट विद्युत आपूर्ती गरिरहेको छ, ३३ केभिएमा गयौँ भने यो समस्या समाधान हुन्छ,’ उनले भने ।