सर्पदंश उपचार केन्द्रमा विशेषज्ञ जनशक्ति अभावबारे सांसद कार्कीको ध्यानाकर्षण
वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१८
shares

काठमाडौं, ३१ वैशाख । नितिमा कार्की ले सर्लाहीको सर्पदंश उपचार केन्द्रमा विशेषज्ञ जनशक्ति अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद कार्कीले लालबन्दी नगरपालिका–१ नवलपुरस्थित समुदायस्तरबाट सञ्चालित सर्पदंश उपचार केन्द्रले सर्लाही, रौतहट, महोत्तरी लगायत जिल्लाका हजारौँ नागरिकलाई सेवा दिँदै आएको बताइन् ।
उनले आईसीयू, भेन्टिलेटर लगायतका पूर्वाधार हुँदाहुँदै पनि दक्ष जनशक्तिको अभावले गम्भीर समस्या सिर्जना भएको उल्लेख गरिन् । विशेषगरी बालबालिकालाई विषालु सर्पले टोकेपछि आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको भन्दै विशेषज्ञ चिकित्सक तथा आवश्यक स्वास्थ्य उपकरण तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिन् ।
सांसद कार्कीले हालै २ वर्षीया बालिका आशाकुमारी महतोसहित केही बालबालिका विषालु कोब्राको टोकाइबाट गम्भीर अवस्थामा पुगेको घटनाले ग्रामीण स्वास्थ्य सेवाको अवस्था उजागर गरेको बताइन् ।















