विश्व एआई समिट एम्स्टर्डममा सुरु, एआईको भविष्यबारे विश्वव्यापी बहस हुँदै
वि.सं.२०८३ असोज २१ बुधवार १४:४९
shares

नेदरल्याण्ड्स, ७ अक्टोबर । नेदरल्याण्ड्सको एम्स्टर्डममा विश्व एआई सम्मेलन (World Summit AI) को १०औँ संस्करण आजदेखि सुरु भएको छ । कृत्रिम बुद्धिमत्ताको विकास, प्रयोग, नीति र भविष्यबारे विश्वव्यापी बहस हुने सम्मेलनको उद्घाटन सत्रमा आयोजक संस्था इन्सपायर्ड माइण्ड्सकी प्रवन्ध निर्देशक समेत रहेकी समिटकी प्रमुख सञ्चालन अधिकृत Maisie Holder ले सम्बोधन गर्दै सम्मेलनको औपचारिक सुरुवात गरिन् ।
अक्टोबर ७ र ८ (असोज २१ र २२) मा एम्स्टर्डमस्थित टिट्स आर्ट एण्ड इभेण्ट पार्कमा आयोजना भइरहेको सम्मेलनमा विश्वका एआई विज्ञ, अनुसन्धानकर्ता, प्रविधि उद्यमी, नीति निर्माता, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।
आयोजकका अनुसार सम्मेलनमा ३० भन्दा बढी देशका ७० भन्दा बढी मिडिया आउटलेटका प्रतिनिधि सहभागी छन् । विश्वका चर्चित आईटी कम्पनीदेखि चर्चित मिडियाहरु प्नि सम्मेलनमा सहभागी छन् ।
नेपालबाट पनि केटिएम भ्वाइससहित आधा दर्जन बढी सञ्चारमाध्यमका प्रतिनिधि सम्मेलनमा सहभागी भएका छन् । केटिएम भ्वाइस डटकमबाट सम्पादक रोयल आचार्य तथा प्रेस प्रतिनिधिद्वय शंकर दाहाल र जनक भट्टराई सहभागी छन् ।
यस वर्षको सम्मेलनमा १० हजारभन्दा बढी सहभागी, ३०० भन्दा बढी वक्ता, १० वटा ट्र्याक र १०० भन्दा बढी प्रदर्शक सहभागी हुने आयोजकले जनाएको छ । सम्मेलनमा एआई सुरक्षा, नयाँ प्रविधि, एआईको वास्तविक प्रयोग, नीति, अर्थतन्त्र तथा समाजमा कृत्रिम बुद्धिमत्ताको प्रभावलगायत विषयमा छलफल हुनेछ ।
सन् २०१७ मा एम्स्टर्डमबाट सुरु भएको एआई समिट अहिले विश्वव्यापी एआई समुदायको महत्वपूर्ण जमघटका रूपमा स्थापित भएको आयोजकको दाबी छ ।

















