पोखरामा भेडाच्याङ्ग्राको हाटबजार सञ्चालन, १४ हजार ८०० भित्रिए
वि.सं.२०८३ असोज २७ मंगलवार १०:४०
shares

काठमाडौं, २७ असोज । दसैँलाई लक्षित गर्दै पोखरा महानगरपालिका–१ सिमपानी र वडा नं. २५ हेमजामा भेडाच्याङ्ग्रा बिक्रीका लागि हाटबजार सञ्चालनमा आएको छ। महानगरपालिकाको पशु सेवा शाखाका अनुसार पोखरामा हालसम्म १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्।
मुस्ताङबाट ९ हजार, दार्चुलाबाट २ हजार, बझाङबाट १ हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक–एक हजार भेडाच्याङ्ग्रा ल्याइएको छ। बजारमा च्याङ्ग्रा प्रतिकेजी १ हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको छ।
भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण तथा बजार अनुगमनका लागि पोखरा महानगरपालिकाको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालयको संयुक्त टोली परिचालन गरिएको छ। ढुवानीका क्रममा बिरामी भेटिएका पशुलाई छुट्टै राख्ने व्यवस्था गरिएको छ।
यस वर्ष वर्षा, बाढीपहिरो, सडक अवरोध र ढुवानी खर्चका कारण किसान तथा व्यापारीलाई समस्या भएको छ। दसैँको समयमा भेडाच्याङ्ग्राको माग बढ्ने भएकाले बजार अनुगमन, पशु स्वास्थ्य परीक्षण र उपभोक्ताको स्वास्थ्य सुरक्षामा सम्बन्धित निकायले जोड दिएका छन्।


















