तरलता थुप्रिएपछि कात्तिकमा पनि घट्यो निक्षेपको ब्याजदर
वि.सं.२०८३ कात्तिक १ आइतवार १५:४०
shares

कर्जा प्रवाह सुस्त बनेको र बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि वाणिज्य बैंकहरूले आगामी कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर असोजको तुलनामा ओरालो लागेको हो। असोजमा ४.०८९५ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकमा ४.०१३ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागततर्फको औसत दर पनि ३.०६६५ प्रतिशतबाट ३.००३ प्रतिशतमा सीमित भएको छ।
यसपटक ब्याजदरमा सबैभन्दा ठूलो कटौती नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको छ। यस बैंकले व्यक्तिगततर्फ ०.८ र संस्थागततर्फ ०.५ प्रतिशतविन्दुले दर घटाउँदै क्रमशः ३.७ र ३ प्रतिशत कायम गरेको छ। नबिल बैंकले पनि निक्षेप सस्तो बनाउँदै व्यक्तिगततर्फ ३.७५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशतमा झारेको छ। यीबाहेक प्रभु, नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड, र कुमारी बैंकले पनि असोजको तुलनामा कात्तिकका लागि ब्याजदर सामान्य दरमा घटाएका छन् भने हिमालयन बैंकले संस्थागततर्फ मात्रै ब्याजदर कम गरेको छ।
एकातिर अधिकांश बैंकले ब्याजदर घटाउँदा एभरेष्ट बैंकले भने उल्टो बाटो समात्दै व्यक्तिगत निक्षेपमा ०.२५ प्रतिशतविन्दुले ब्याज बढाएर ३.७५ प्रतिशत पुर्याएको छ। बाँकी १३ वटा वाणिज्य बैंकहरूले भने ब्याजदरमा कुनै हेरफेर गरेका छैनन्। सानिमा, एनएमबि र माछापुच्छ्रे (सर्वाधिक ४.५ प्रतिशत), कृषि विकास, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायतका १३ वटा बैंकले भने बजारको अवस्था पर्खिने नीति लिँदै असोजकै दरलाई निरन्तरता दिएका छन्।


















