महानवमी उल्लास : देशभरका शक्तिपीठमा घुइँचो, वर्षमा एकदिन खुल्ने तलेजु भवानी खुला
वि.सं.२०८३ कात्तिक ३ मंगलवार ०७:१७
shares

आश्विन शुक्ल नवमी अर्थात् बडादसैँको नवौँ दिन, आज देशभर महानवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। नवरात्रको अन्तिम दिन आज शक्तिस्वरूपा नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विशेष पूजा आराधनासहित घटस्थापनामा राखिएको जमरा देवीलाई अर्पण गर्ने चलन छ। आज महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष आराधना गर्नुका साथै दुर्गाको प्रतीकका रूपमा कन्याहरूको पूजा गरी दक्षिणा दिने परम्परा छ।
पौराणिक मान्यताअनुसार आजकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमीलाई विशेष महत्त्वका साथ लिइन्छ। आज दसैँघर, कोत र देवी मन्दिरहरूमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठसहित विशेष पूजा हुन्छ। देवीलाई प्रसन्न पार्न धेरैजसो शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ। यद्यपि, पशुबलि नदिनेहरूले भने कुभिण्डो, घिरौँला, काँक्रो वा नरिवलको बलि दिई पायस चढाउने चलन छ।
यसै अवसरमा आज नेपाली सेनाका ब्यारेक, गुल्म तथा हनुमानढोका दरबारका कोतहरूमा बाजागाजा र हर्षबढाइँका साथ जङ्गी निशाना र कोतपूजा गर्ने परम्परा रहेको छ।
यसैबीच, काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ। वर्षभरिमा महानवमीका दिन मात्र खुल्ने उक्त मन्दिरमा बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। बिहानैदेखि तलेजु भवानीको दर्शन गर्न भक्तजनको बाक्लो उपस्थिति रहेको छ।



















