नेप्सेमा झिनो सुधार, कारोबार ५ अर्ब ७९ करोड नाघ्यो
वि.सं.२०८३ कात्तिक १० मंगलवार १६:१९
shares

काठमाडौं, १० कार्तिक। साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा बन्द भएको छ। परिसूचकमा झिनो वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ।
नेप्से करिब स्थिर रहेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो सोमबार ४ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६० स्टकको ५३ हजार ३० पटकको कारोबारमा ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँबराबरको १ करोड ५३ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सेयर बजारमा बेनी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ६० रुपैयाँ ८० पैसाले बढेर प्रतिकित्ता ४६६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।यस दिन माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य पनि १२ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, दोर्दी खोला जलविद्युत् कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।
यता, कारोबारमा आएका कम्पनीमध्ये युनिलिभर नेपालको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट देखिएको छ। कम्पनीको शेयरमूल्य ४.९१ प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर अग्रस्थानमा रहेको छ। कम्पनीको २८ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।त्यसैगरी, पिपुल्स हाइड्रोपावर कम्पनीको २४ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम पनि २१ करोड रुपैयाँ नाघेको छ।
नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये चारको परिसूचक बढेको छ भने बाँकी नौ उपसमूहमा गिरावट आएको छ।
यस दिन जलविद्युत् उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, लघुवित्त, म्युचुअल फन्ड र अन्य उपसमूहका परिसूचकमा पनि सामान्य सुधार देखिएको छ।




















