सिटिजन्स म्युचुअल फन्डको नयाँ योजना ‘सिटिजन्स सुपर ५०’ मंसिर २ गतेदेखि निष्कासन हुँदै
वि.सं.२०८३ कात्तिक ११ बुधवार ०९:४०
650
shares
shares

पुँजी बजारका लगानीकर्तालाई नयाँ विकल्प दिँदै सिटिजन्स म्युचुअल फन्डले आगामी मंसिर २ गतेदेखि ‘सिटिजन्स सुपर ५०’ नामक नयाँ योजना बजारमा ल्याउने भएको छ। यो एक बन्दमुखी (क्लोज-इन्ड) प्रकृतिको सामूहिक लगानी कोष योजना हो, जसका इकाइहरूमा सर्वसाधारणले लगानी गर्न सक्नेछन्।
योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार, प्रतिइकाइ १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गर्न लागिएको हो। कुल निष्कासित इकाइमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ कोषको प्रवर्द्धक संस्था सिटिजन्स बैंक इन्टरनेसनलका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाइ भने सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। यस निष्कासनबाट सर्वसाधारणतर्फ न्यूनतम ८५ करोड रुपैयाँ बराबरको पुँजी संकलन गर्ने कोषको लक्ष्य छ।
यस योजनामा लगानी गर्न इच्छुक सर्वसाधारणले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्मका लागि मागदाबी गर्न सक्नेछन्। क्यापिटलका अनुसार, खरिद आवेदन छिटोमा मंसिर ७ गते बैंकिङ समयपछि बन्द हुनेछ। यद्यपि, उक्त निर्धारित अवधिभित्र मागबमोजिमको पर्याप्त आवेदन नपरेमा भने ढिलोमा मंसिर १६ गतेसम्म निष्कासन खुला रहने व्यवस्था गरिएको छ।




















