Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो नेप्से,नेप्सेसँगै बढ्यो कारोबार रकम

1.24K
shares

काठमाडौं,११ कार्तिक।  साताको कारोबारको तेस्रो दिन बुधबार शेयर बजारमा उल्लेख्य सुधार आएको छ। अघिल्लो दिन सामान्य अवस्थामा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस दिन ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको हो।

नेप्सेसँगै यस दिन अन्य प्रमुख परिसूचकमा पनि वृद्धि देखिएको छ। सेन्सेटिभ इन्डेक्स ६.३२ अंक, फ्लोट इन्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३९ अंकले बढेका छन्।

कारोबार रकम पनि बढ्यो

बुधबार शेयर बजारमा कारोबार रकमसमेत बढेको छ। मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा यस दिन ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।

यस दिन ३४८ स्टकको ६३ हजार ७४४ पटकको कारोबारमा १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर किनबेच भएका छन्।

बेनी हाइड्रोपावरमा सकारात्मक सर्किट

बुधबार बेनी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ५३६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, बुटवल पावर कम्पनीको शेयर मूल्य साढे १० प्रतिशतभन्दा बढीले बढेको छ। सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको शेयर मूल्य पनि ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यस दिन मूल्य घटेका कम्पनीको शेयरमा भने ३ प्रतिशतभन्दा कम गिरावट देखिएको छ।

लिबर्टी इनर्जीको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

त्यस्तै, घलेम्दी हाइड्रोपावरको २८ करोड रुपैयाँभन्दा बढी र बुटवल पावर कम्पनीको करिब २६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१२ उपसमूहमा वृद्धि

बुधबार कारोबार भएका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने व्यापार उपसमूहमा सामान्य गिरावट आएको छ।

जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

बजार परिसूचक र कारोबार रकम दुवैमा सुधार देखिएसँगै बुधबार शेयर बजारमा सकारात्मक माहोल देखिएको छ।