Dhulikhel Eco Banner new

ग्यास उद्योग गाभ्न निगमको निर्देशन, कार्ययोजना बनाउन पत्र

494
shares

काठमाडौं, १६ कात्तिक। नेपाल आयल निगमले देशभर सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभिन (मर्जर) आग्रह गर्दै औपचारिक पत्र पठाएको छ। ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित बनाउने र उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यसहित निगमले उद्योगहरूलाई मर्जरसम्बन्धी कार्ययोजना तयार गर्न निर्देशन दिएको हो।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले देशभरका सम्पूर्ण ग्यास उद्योगलाई पत्राचार गर्दै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार गाभ्ने–गाभिने प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

विभागका निर्देशक ई. विनित मणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा निगमको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ उल्लेख गरिएको छ। उक्त बुँदामा एलपी ग्यासको बिक्री वितरण सहज बनाउन र उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम तथा ब्रान्डमा सञ्चालित ग्यास उद्योगलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने उल्लेख छ।

सोही नीतिलाई कार्यान्वयन गर्न उद्योगहरू आफैँले कार्ययोजना बनाएर मर्जर प्रक्रिया तीव्र बनाउनुपर्ने निगमले जनाएको छ।

ग्यास उद्योगको संख्या र ब्रान्ड व्यवस्थापनमा जोड

नेपालमा आवश्यकताभन्दा बढी संख्यामा ग्यास उद्योग तथा विभिन्न ब्रान्डका सिलिन्डर बजारमा छरिएर रहेका कारण बजार अनुगमन, सिलिन्डर व्यवस्थापन, सुरक्षा मापदण्ड र गुणस्तर नियन्त्रणमा चुनौती देखिँदै आएको छ।

उद्योगहरूबीच मर्जर भएमा वित्तीय क्षमता र पूँजी सुदृढ हुने, सञ्चालन लागत घट्ने तथा उपभोक्ताले सहज र सुरक्षित रूपमा सेवा पाउने अपेक्षा निगमको छ।

निगमले उक्त पत्रको बोधार्थ कार्यकारी निर्देशक तथा नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) लाई समेत पठाएको छ। साथै, उद्योगहरूलाई छिटोभन्दा छिटो कार्ययोजनासहित मर्जर प्रक्रिया अघि बढाउन सूचित गरेको छ।