Dhulikhel Eco Banner new

नदी नियन्त्रणका लागि छुट्याइएको बजेटको २३.४ प्रतिशत खर्च

468
shares

काठमाडौं, १७ कात्तिक। नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनका कार्यक्रमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् । तर, सोही अवधिमा विनियोजित त्रैमासिक बजेटको २३.४ प्रतिशत मात्रै खर्च भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा नदी नियन्त्रणसम्बन्धी कार्यक्रमका लागि ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो त्रैमासका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको हो ।

महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा २.९ किलोमिटर तटबन्ध निर्माण र १ हेक्टर जग्गा उकास गरिएको छ । समग्रमा त्रैमासिक लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भारित भौतिक प्रगति भएको उनले बताए ।

केही आयोजनाले भने निर्धारित त्रैमासिक लक्ष्यभन्दा बढी प्रगति गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले लक्ष्यको १६०.८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति गरेको छ । यसैगरी लमही (दाङ) ले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् ।