विद्युत् बिक्री आम्दानी बढ्दा कुथेली बुखेरी हाइड्रोपावरको नाफा ७६ प्रतिशतले वृद्धि
वि.सं.२०८३ कात्तिक १८ बुधवार १४:०६
shares

काठमाडौं, १८ कात्तिक। कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ७६.१९ प्रतिशतले वृद्धि गरेको छ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ४४ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नाफा २५ लाख ४४ हजार रुपैयाँ थियो।
कम्पनीको नाफा बढ्नुमा विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको कमीले मुख्य भूमिका खेलेको देखिन्छ।
समीक्षा अवधिमा विद्युत् बिक्रीबाट कम्पनीले १ करोड १ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ८१ लाख ९८ हजार रुपैयाँ थियो। यसैगरी कम्पनीको कुल आम्दानी १ करोड १० लाख २५ हजार रुपैयाँ कायम भएको छ।
अर्कोतर्फ, कम्पनीको वित्तीय खर्च पनि घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ५ लाख ६७ हजार रुपैयाँ रहेको वित्तीय खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २ लाख ५ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्ता पुँजी १४ करोड ७४ लाख ५९ हजार रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ४ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।
वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ १६ पैसा पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ४७ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १३९ रुपैयाँ ९० पैसा कायम भएको छ।



















