एनआईसी एसियाको ५० प्रतिशत हकप्रद सेयरलाई सेबोनको स्वीकृति
वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:२९
shares

काठमाडौं, १८ कात्तिक। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एसिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद सेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो।
सेबोनको स्वीकृतिसँगै बैंकले हाल कायम सेयरधनीलाई १:०.५० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। अर्थात्, दुई कित्ता सेयर बराबर एक कित्ता नयाँ सेयर प्राप्त हुनेछ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। यसबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ पुँजी जुटाउनेछ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेड (NIMB Ace Capital Limited) ले पाएको छ।
बोर्डको सञ्चालक समितिबाट निर्णय पारित भइसकेको र यससम्बन्धी औपचारिक पत्र जारी हुने क्रममा रहेको छ। नियामकबाट पत्र प्राप्त भएपछि बैंकले सेयर निष्कासनको मिति, बुक क्लोज तथा आवेदन प्रक्रियासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्नेछ।
हकप्रद सेयर निष्कासनपछि बैंकको पुँजीगत आधार थप मजबुत हुनेछ।



















