Dhulikhel Eco Banner new

सरकारले सुरु गर्यो राष्ट्रिय प्रत्यायन सेवा, नेपाली उद्योगको विकासका लागि काम गर्ने

नेपाली उद्योगको गुणस्तर अभिवृद्धि, उपभोक्ताको सुरक्षा र निर्यात प्रवद्र्धनका हुने

689
shares

काठमाडौं, १७ कात्तिक । नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत स्थापित नेपाल प्रत्यायन केन्द्रको बुधबार त्रिपुरेश्वरमा औपचारिक शुभारम्भ गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले केन्द्रको उद्घाटन गर्दै यसलाई नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

यस केन्द्रको सञ्चालनबाट अब प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ । यसले उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणसम्बन्धी समय र खर्च घटाउन, गुणस्तर सुधार गर्न तथा विदेशी निकायमा निर्भरता कम गर्न सहयोग पुग्नेछ ।

यसैगरी खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता अभिवृद्धि हुँदा आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपालको निर्यात व्यापारलाई सहज बनाउन अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ। यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउन र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउन सहयोग पुग्नेछ ।

उद्घाटन समारोहमा मन्त्री साहले भने, “हाम्रो उद्देश्य उद्योग खोल्ने वातावरण बनाउनु मात्र होइन, नेपाली उद्योगलाई गुणस्तरीय, प्रतिस्पर्धी र विश्व बजारमा स्थापित गर्नु हो। नागरिकले सुरक्षित वस्तु पाउनुपर्छ, उद्योगीले अनावश्यक खर्च र झन्झटबाट मुक्ति पाउनुपर्छ र नेपाली उत्पादनले विश्व बजारमा सम्मानजनक स्थान बनाउनुपर्छ। मन्त्रालय यसका लागि परिणाममुखी सुधारमा प्रतिबद्ध छ ।’’

मन्त्रालयले नेपाल प्रत्यायन केन्द्रको संस्थागत तथा प्राविधिक क्षमता विकास, अन्तर्राष्ट्रिय मान्यता प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने, स्वदेशी प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने र उद्योगी तथा निर्यातकर्तालाई गुणस्तरसम्बन्धी सेवा सहज बनाउने कार्यलाई प्राथमिकता दिनेछ ।