तिहारको फूलमा पोखराको आत्मनिर्भरता बढ्दै, २०० रोपनीमा सयपत्री खेती
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १३:२३
shares

काठमाडौं, १९ कात्तिक। तिहारमा प्रयोग हुने सयपत्री फूलको मागमध्ये करिब ७५ प्रतिशत पोखरामै उत्पादित फूलले धान्ने अनुमान गरिएको छ। पोखरा महानगरपालिकाभित्र यस वर्ष करिब २०० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ।
स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्दै किसानको आयआर्जन बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले पछिल्ला तीन वर्षदेखि तिहार लक्षित फूल खेतीलाई प्राथमिकता दिँदै आएको छ। महानगरले विशेषगरी सयपत्री फूल उत्पादनका लागि किसानलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको हो।
पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाका अनुसार महानगरपालिकाले किसानलाई सयपत्री फूलको बीउ, मल्चिङ प्लास्टिक, आवश्यक कृषि सामग्री र प्राविधिक तालिम उपलब्ध गराउँदै आएको छ।
महानगरपालिकाको सहयोग, किसानको मेहनत तथा विभिन्न संघसंस्थाको सहकार्यले पोखरामा सयपत्री फूल खेतीको क्षेत्र विस्तार हुँदै गएको कडरियाले बताए। यसले स्थानीय बजारको माग धान्न सहयोग गर्नुका साथै किसानका लागि आम्दानीको नयाँ अवसरसमेत सिर्जना गरेको उनको भनाइ छ।
तिहारलाई लक्षित गर्दै कृषि महाशाखाले किसानका खेतबारीमै पुगेर फूल खेतीको अवस्था, उत्पादन र बजारमा आपूर्तिको तयारीबारे अनुगमन गरिरहेको छ।
अनुगमनका क्रममा यस वर्ष तिहार केही ढिलो परेकाले फूल उत्पादन र बजारमा आपूर्ति व्यवस्थापनमा केही चुनौती देखिएको कडरियाले जानकारी दिए। तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन र किसानले उचित मूल्य पाउने वातावरण बनाउन महानगरले सहजीकरण गरिरहेको उनले बताए।
विगतमा तिहारका लागि अन्य जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्था रहे पनि पछिल्ला वर्षमा पोखरामै फूल खेती विस्तार हुँदै गएपछि स्थानीय उत्पादनले बजारमा आफ्नो हिस्सा बढाउँदै लगेको छ।
स्थानीयस्तरमै फूल उत्पादन वृद्धि हुँदा किसानको आम्दानी बढ्नुका साथै बाहिरी जिल्लाबाट हुने फूल आयातसमेत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



















