दूधकोशी–२ जलविद्युत् आयोजनामा आँखुखोलाको १ अर्ब लगानी गर्ने निर्णय
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १४:१५
shares

काठमाडौं, १९ कात्तिक। आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दूधकोशी–२ जलाशययुक्त जलविद्युत् आयोजनामा १ अर्ब रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ।
आयोजना प्रवर्द्धक दूधकोशी हाइड्रोपावर प्रालिले प्रस्ताव गरेको उक्त आयोजनामा लगानी गर्ने निर्णय कम्पनीको सञ्चालक समितिले गरेको हो। कम्पनीले यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत गराएको छ।
कम्पनीका अनुसार २०८३ कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले आयोजनामा लगानी गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको हो।
आयोजनाको विस्तृत परियोजना विवरण अध्ययन गर्दा लगानी र प्रतिफलका दृष्टिले उपयुक्त देखिएकाले अंकित मूल्यमा १०० करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ बमोजिम उक्त जानकारी सार्वजनिक गरेको हो।
७० मेगावाट क्षमताको दूधकोशी–२ जलाशययुक्त आयोजना कार्यान्वयनमा आएमा जलविद्युत् क्षेत्रमा आँखुखोला जलविद्युत् कम्पनीको लगानी विस्तार हुनेछ।



















