Dhulikhel Eco Banner new

बागलुङमा सडक कुकुरको व्यवस्थापन गर्न ‘डग होस्टेल’, ५० वटा कुकुर राख्न सकिने

715
shares

काठमाडौं, २७ कात्तिक। सडकमा छाडिएका कुकुरको व्यवस्थापन तथा संरक्षण गर्ने उद्देश्यले बागलुङ नगरपालिकाले ‘डग होस्टेल’ सञ्चालनमा ल्याएको छ। कुकुरलाई आश्रय, खाना तथा स्वास्थ्य उपचार उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था गरेको हो।

बागलुङ नगरपालिका–३ मा पाँच रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको उक्त होस्टेलमा एकैपटक ५० वटा कुकुर राख्न सकिने क्षमता छ। हाल त्यहाँ ३० वटा कुकुर राखिएका छन्।

डग होस्टेल निर्माणका लागि कुल १ करोड रुपैयाँ खर्च भएको छ। उक्त रकममध्ये बागलुङ नगरपालिकाले ३५ लाख रुपैयाँ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६५ लाख रुपैयाँ उपलब्ध गराएका छन्।

होस्टेलमा आश्रय लिएका कुकुरलाई नियमित खानपानको व्यवस्था गरिएको छ। उनीहरूलाई बिहान दूध र भात तथा बेलुका कुखुराको मासु र भात खुवाउने गरिएको छ।

१ हजार ८०० कुकुरलाई रेबिजविरुद्धको खोप

सडक तथा सामुदायिक कुकुरबाट रेबिज संक्रमण र कुकुरको टोकाइबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न नगरपालिकाले खोप अभियानसमेत सञ्चालन गरेको छ।

नगरपालिकाका अनुसार हालसम्म करिब १ हजार ८०० सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ।

सडकमा रहेका कुकुरको उचित व्यवस्थापन, संरक्षण तथा स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै नगरपालिकाले डग होस्टेलको अवधारणा कार्यान्वयनमा ल्याएको हो।