छठ पर्वका अवसरमा सोमबार पनि सार्वजनिक बिदा, कात्तिक ३० गते देशभर बिदा
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार १६:३४
shares

काठमाडौं, २७ कात्तिक। सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार (कात्तिक ३० गते) थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि आइतबार (कात्तिक २९ गते) सार्वजनिक बिदा कायम रहेकामा सरकारले सोमबारका लागि समेत बिदा थप गरेको हो।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सोमबार थप सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार छठ पर्वका अवसरमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत तथा पूजाका विधि सम्पन्न गर्ने परम्परा छ।
छठ पर्वका धार्मिक तथा सांस्कृतिक विधि सोमबार बिहानसम्म जारी रहने भएकाले व्रतालु तथा श्रद्धालुलाई पर्वका सम्पूर्ण अनुष्ठान सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले थप एक दिन सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ।
यस निर्णयसँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।


















