Dhulikhel Eco Banner new

छठ पर्वमा विद्युत कटौती हुन नदिन प्राधिकरणको तयारी, प्राविधिक टोली २४ घण्टा परिचालन

1.08K
shares

काठमाडौं, २७ कात्तिक। छठ पर्वका अवसरमा विद्युत आपूर्ति नियमित र गुणस्तरीय बनाउन नेपाल विद्युत प्राधिकरणले विशेष तयारी गरेको छ। पर्वका समयमा विद्युत आपूर्तिमा अवरोध आउन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

विद्युत आपूर्ति व्यवस्थापन तथा प्रणाली सञ्चालनलाई प्रभावकारी बनाउन प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ। बैठकमा छठ पर्वका समयमा विद्युत आपूर्ति सहज बनाउने तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको थियो।

त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठकसमेत गरिएको छ। बैठकमा विद्युत आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी तथा आवश्यक जनशक्ति परिचालनबारे छलफल र समन्वय गरिएको प्राधिकरणले जनाएको छ।

कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सबै तयारी पूरा गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। विद्युत आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिएका छन्।

त्यस्तै, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गरी सम्भावित अवरोध न्यूनीकरण गर्न भनिएको छ। विद्युतसम्बन्धी गुनासो छिटो सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउनसमेत कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।

यसैबीच, प्राधिकरणले उपभोक्तालाई घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था नियमित जाँच गर्न आग्रह गरेको छ। गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ।

विद्युत आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।