Dhulikhel Eco Banner new

तिहारपछि खुलेको शेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

650
shares

काठमाडौं, २७ कात्तिक। तिहार बिदापछिको पहिलो कारोबार दिन शुक्रबार शेयर बजारमा गिरावट आएको छ। तिहारअघि सकारात्मक लयमा देखिएको बजार बिदापछि भने ओरालो लागेको हो। यससँगै शेयर कारोबार रकममा समेत कमी आएको छ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.३२ अंकले घटेर २ हजार ६४८.८९ विन्दुमा कायम भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले घटेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंकले ओरालो लागेको छ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि संकुचन देखिएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ५ करोड रुपैयाँको शेयर किनबेच भएकोमा शुक्रबार ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन ३३५ कम्पनीका ७८ लाख ४४ हजार कित्ता शेयर ३१ हजार ३२३ पटकको कारोबारमार्फत खरिदबिक्री भएका छन्।

शुक्रबार श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य सबैभन्दा धेरै ७.५६ प्रतिशतले वृद्धि भएको छ। सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत र एशियन हाइड्रोपावरको ५ प्रतिशतभन्दा बढीले बढेको छ।

यता, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको शेयरमूल्य ९.५६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट इण्डष्ट्री अग्रस्थानमा रहेको छ। कम्पनीको ४० करोड ७ लाख ४२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सानिमा माइ हाइड्रोपावर र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको कारोबार रकम भने ९ करोड रुपैयाँ नाघेको छ।

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये शुक्रबार चारवटाको परिसूचकमा सुधार देखिएको छ भने बाँकी नौ उपसमूह घटेका छन्। विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र निर्जीवन बीमा उपसमूह सामान्य बढेका छन्।

यस दिन उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी प्रभावित भएको छ। उक्त उपसमूहको परिसूचक ८३.५८ अंकले घटेको छ।